काठमाडौँ । इन्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन् ।
सोमबार बिहान ३:४० बजे उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ ।
सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् ।
प्रारम्भिक जानकारी अनुसार, कार चलाइरहेका ड्राइभरलाई एक्कासि निद्रा लागेपछि यो दुर्घटना भएको थियाे ।
पवनदीप राजन उत्तराखण्डको चम्पावतका हुन् । सन् २०१५ मा ‘द भ्वाइस इन्डिया’ जितेपछि उनको साँगीतिक यात्रा सुरु भएको हो । त्यसपछि उनले ‘इन्डियन आइडल सिजन १२’ को उपाधि जितेका थिए ।