आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रमुख तीन दलका नेताहरूबीच बाक्लियो भेटघाट

मंगलबार, बैशाख २३ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।

उनीहरुबीच करिब २ घण्टा छलफल भएको थियो । भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू विषयमा छलफल भएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

यी दुबै  भेटमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ ।

संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आएका छन् ।

कानुनी व्यवस्था विपरीत पीडितका प्रतिनिधिहरू नअटाउने गरी सिफारिस समितिले दुई आयोगमा नियुक्त गर्ने सार्वजनिक गरेको संक्षिप्त सूचीप्रति द्वन्द्वपीडितहरूले आपत्ति प्रकट गरेका हुन् ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न ११ चैत २०८१ मा सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले पटकपटकको असफलताबाट नसिकेको र अपारदर्शी, देखावटी र नियन्त्रित प्रक्रिया अवलम्बन गरेको पीडित पक्षको आरोप छ ।