काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका हुन् ।
आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए । प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरु सरकार छाड्न बाध्य हुने उनले चेतावनी दिए ।
‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भनेदेखि हामी सरकार छोड्न बाध्य हुन्छौं,’– उनले भने ।
गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम नहुँदै किर्ते पत्रको आधारमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो ।
सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै साढे ५ घण्टा कारागार बसेर उनी छुटेका थिए ।