आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

महानगर प्रहरीले सडक नै अवरुद्ध पारेर बाइपास रोड किनाराका तरकारी व्यापारी लखेट्याे

शुक्रबार, बैशाख १९ २०८२

काठमाडौं । काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर प्रहरी परिचालन गरेको छ ।

हरेक बिहान साना किसानले सडकले तरकारी तथा कृषि उपज बेच्दै आएकामा केही अघि महानगरले हटाएको थियो ।

तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउने साना व्यापारीलाई हटाउन महानगर प्रहरीले सडक खाली गराएको छ ।

यसक्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको छ ।

महानगर प्रहरीहरु बिहानै माछापोखरी सडकमा लस्करै उभिएका थिए । उनीहरु वारिपारिसम्म उभिएर साना किसान र तरकारी व्यापारीहरुलाई रोक्न खोन्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको स्थानीयको भनाइ छ ।

माछापोखरी क्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका थिए ।

सडक किनारमा बसेर तरकारी र खुद्रा सामान बेचेर गुजारा चलाउनेहरुलाई व्यवस्थित बनाउने नाममा सार्वजनिक यातायातका साधन नै बन्द गराएको भन्दै महानगरपालिकाको आलोचना भएको छ ।

पत्रकार राजन कुइँकेलले सामाजिक सन्जालमा तस्वीर शेयर गर्दै लेखेका छन् :
‘बालेन शासन ।
माछापोखरी, काठमाडौंमा सार्वजनिक यातायात नै रोकेर बाटो बन्द गरिएको छ । साना किसान, ब्यापारीले विहान ४ बजेदेखि ७ बजेसम्म यहाँ तरकारी बेचेर गुजारा गर्दै आएका थिए । तिनलाई प्रतिबन्ध लगाउन यसरी नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् ।
केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ ।
गरीबको चमेली बोलिदिने कोही छैन ।’