२ बजेर ४५ मिनेटभित्र सांसदहरुलाई आशनग्रहण गरिसक्न आग्रह
काठमाडौँ । आर्थिक वर्ष २०८२-०८३ को लागि संसदमा सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।
शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।
संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।
तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद् सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
सभामुख घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।
नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ।