आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

मंगलबार, बैशाख १६ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनासाथ विपक्षी  दलका सांसदले उठेर विरोध जनाएका थिए । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।

 

सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए। शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताइन् । उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गरिन् ।

सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनीहरुलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।

सांसद मनबहादुर गुरुङले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनिष झाले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।

सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेशकुमार बर्तौलाले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको निजगढ ‘फास्ट ट्र्याक’ समयमै निर्माण गर्नुपर्ने बताए। उक्त सडकखण्ड झण्डै ५३ किलोमिटर मकवानपुरमा पर्ने भएकाले सिस्नेरी दोभानबाट पहुँच विन्दु फास्ट ट्र्याकसँग जोड्न सके ललितपुर, मकवानपुर, धादिङ र चितवनलाई लाभ मिल्ने सुझाव दिए ।