आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारले शिक्षकसँग आज दिउँसो पनि वार्ता गर्ने, निकास निस्कने दुवैपक्षको दाबी

मंगलबार, बैशाख १६ २०८२

काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ ।

सोमबार राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको हो ।

सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् ।

वार्ता आज दिउँसो पनि हुँदैछ । अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । आजै गठबन्धनका मुख्य दल कांग्रेस-एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको छ । सम्भवतः उक्त छलफलपछि सरकारसँग वार्ता हुनेछ ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए। उनले भने, “केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।”

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।

आज हुने वार्ताबाट आन्दोलनले निकास निस्कने दुवैपक्षको दाबी छ । रातिको बैठकबाट निस्किँदै गर्दा महासंघका अध्यक्ष सुवेदीले वार्ता सकारात्मक रहेको बताउँदै केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए ।