अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताएका छन् ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
“स्वदेशमा उत्पादित वस्तु बजार प्रवद्र्धन गर्न उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,” उनले भने, “डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट सूचना प्रविधिको प्रवद्र्धनमा टेवा पुग्ने छ ।”
सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाए । “अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्छ । तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्छ,” उनले भने ।
उनले भने, ‘अहिलेजस्तो काम गरेर हामीलाई अब हुँदैन । अब सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम आएको छैन । त्यहाँ हात हाल्न छाडिदिए हुन्छ । कांग्रेस अहिले एमालेसँग मिलेर सरकारमा छौं । हामी तलमाथि गर्दैनौं । तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं । सरकार भएपछि सरकारमा बस्नको लागि मात्रै बनाएर हुँदैन । सरकारले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं ।’