शिक्षक र सुरक्षाकर्मीलाई पनि संयमित भएर प्रस्तुत हुन ध्यानाकर्षण
काठमाडौं । सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाउनुपर्ने धारणा राखे । उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति घोर भत्र्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न माग पनि गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसमक्ष माग गरिन् शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित रहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले पत्रकारमाथि भएको आक्रमणको निन्दा गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले शिक्षकमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै शिक्षकको माग पूरा गर्न सरकारसमक्ष माग गरे। उनले शिक्षक आन्दोलनका क्रममा पत्रकारमाथि आक्रमण भएको निन्दा व्यक्त गरे । साथै आवासीय चिकित्सकको जायज माग यथाशीघ्र सम्बोधन गर्न पनि माग गरे ।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसमक्ष माग गरे। प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएको जुनसुकै पक्षबाट भएको दमन राम्रो नभएको भन्दै शिक्षकहरूलाई संयमित भएको आफ्ना घोषित कार्यक्रम अगाडि बढाउन तथा सुरक्षाकर्मीलाई पनि संयमित भएर प्रस्तुत हुन ध्यानाकर्षण गराए ।
उनले विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई शिक्षामन्त्रीले जानकारी गराउन माग गरे ।
उनले भने, ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहान्छु, यस्तो हुनु नपर्ने हो । प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन् । राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो । यस्तो गर्नु उचित होइन ।’