काठमाडौं । काठमाडौंको टोखा, झोरमा ट्रकमा लुकाइएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ। प्रहरीको जानकारी र विज्ञ अनुसन्धानबाट शङ्कास्पद व्यक्तिको पहिचान खुलेको हो।
ट्रकभित्र भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका नारायण पौडेल रहेको अनुसन्धानबाट खुलेको छ ।
राजश्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानमा पौडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी मागिसकेको छ । पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए ।
गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् ।
लामाले ट्रकमा फल्स बटम बनाएर अमेरिकन डलर र युरो लुकाएर लैजाँदै थिए । विभागका एक अनुसन्धान अधिकृतका अनुसार उक्त रकम पौडेलले दिएको खुलेको छ ।
चालक लामाको बैङ्क खाताको विवरण जाँच्दा अस्वाभाविक कारोबार फेला परेको छ। उनको मोबाइलको सीडीआर विश्लेषण गर्दा पौडेलसँग अन्तिम पटक सम्पर्क भएको देखिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले पौडेललाई पक्राउ गरी जिम्मा लगाउन प्रहरीलाई पत्राचार गरेको छ।
विभागले पौडलेकै संलग्नतामा रकम ट्रकमा राखेको फुटेज समेत पत्ता लगाएको छ । अनुसन्धान र सीसीटीभी फुटेजबाट समेत २५ करोडका मालिक पौडेल रहेको प्रमाणित भएकाे विभागले जानकारी दियाे ।
पछिल्लो समय टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट युरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो । विभागको अहिलेसम्मको अनुसन्धानले पनि सुन तस्करी गर्नकै लागि उक्त रकम चीन लाने लागेको निष्कर्ष निकालेको छ ।
त्यसका लागि पौडेलले चालकलाई भरियाको रूपमा प्रयोग गरेको देखिएको छ ।
नारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएको पाइएको छ । उनका दाजु बच्चु पौडेल पनि सो काण्डमा जोडिएका थिए ।
नारायण अहिले माओवादी पार्टीमामा आबद्ध छन् भने उनका भाइ राजकुमार माओवादीकै टिकटमा भोटेकोशी गाउँपालिकको अध्यक्षमा निर्वाचित भएका थिए ।
०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेसका उम्देवार पासाङ नुर्बु शेर्पासँग पराजित भएका थिए ।