काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च भएको छ ।
यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । सुनको मूल्य एकैदिन आज तोलामा ४ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।
बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।
यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।