चैत्रमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
पार्टीको आइतबार यहाँ सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको हो ।
पार्टीको यही माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक प्रतिवेदन, आर्थिक र साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयवस्तुमा दबाब दिन प्रदेश र जिल्ला तहमा आगामी फागुनमा जनपरिचालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष निकालेको छ ।
बैठकमा वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिएको थियो । बैठकले समान विचारधारा भएका राजनीतिक समूह तथा पार्टीसँग एकता गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा गर्ने भएको छ । बैठकले चैत महिनामा काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले काठमाडौं केन्द्रित कार्यक्रमको स्वरुप पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तय गर्ने जानकारी दिए ।
पार्टीको सदस्यता वितरण अभियानलाई तिब्रता दिने, ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा अभियान सञ्चालन गर्ने विगतको निर्णयलाई निरन्तरता दिने र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देशन दिने निर्णय गरेको बताए ।
केन्द्रिय सदस्यहरुलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रुपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको बताए। समान विचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको पनि बताए ।