मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भीम रावलको अभियानलाई समर्थन गर्ने अछामका ६ एमाले नेता कारबाहीमा

बिहिबार, माघ १० २०८१

कैलाली । नेकपा एमालेले निष्कासन गरेका नेता भीम रावलले सुरु गरेको अभियानलाई साथ दिएको भन्दै अछाम एमालेले आफ्ना ६ जना नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शङ्कर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई कारबाही गरेको हो ।

उनीहरूलाई नेकपा एमालेको सङ्गठन कमजोर पार्ने कार्यहरू गरेको, पार्टीको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न सञ्चार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको आरोप लगाइएको छ ।

बुधबार पार्टीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिमा सक्रिय हुने अरू नेताहरूलाई पनि आगामी दिनमा कारबाही गरिने चेतावनी दिइएको छ ।

एमालेले अछाम कमिटीले आज कारबाही गरेका ६ जनासहितका १ हजार ८७ जनाले सोमबार भीम रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गरेको भन्दै हस्ताक्षरसहित सामूहिक वक्तव्य जारी गरेका थिए ।