गणतन्त्र, समावेशिता र संघीयतामाथि अहिलेको गठबन्धनबाट खतरा रहेको अमरेशको टिप्पणी
काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् ।
उनीहरुबीच संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति भएकाे हाे ।
मंगलबार काठमाडौंमा बसेको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका हुन् ।
दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्ड लगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए ।
बैठकमा जनता प्रगतिशील पार्टी लगायत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने उपस्थित थिएन ।
यता स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गणतन्त्र, समावेशिता र संघीयतामाथि अहिलेको गठबन्धनबाट खतरा रहेको टिप्पणी गरेका छन् ।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेको सरकार शक्तिशाली नभएको जिकिर गरेका हुन् । उनले सत्ताको नाममा विकृत्ति र विसंगत ढंगले चलिरहेको टिप्पणी गरे ।