काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला सञ्चारमामध्यमका मालिकहरू योजना नै बनाएर अरुलाई बदनाम गर्न लागेको आरोप लगाएका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
पत्रकारितामा पनि एकनासको अवस्था नरहेको उल्लेख गर्दै उनले ठूला सञ्चारमाध्मका मालिकहरूले योजनावद्ध रुपमा बदनाम गर्न लागेको आरोप लगाए ।
केही दिन अघिदेखि विभिन्न सञ्चार माध्यमले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना प्रकरणको विषय उठाएका थिए । सम्भवतः प्रचण्डको उक्त आरोप सोही तिर लक्षित भएको थियो ।
‘श्रमिक पत्रकारका समस्या एकातिर छ भने अर्कोतिर ठूला मिडिया साउहरूले कसलाई बदनाम गर्नुछ, योजना नै बनाएर उद्देश्यमूलक ‘मेनोबोरिङ’ गर्ने गरेका छन्’, उनले भने, ‘यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्छ ।’
उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।
उनले जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन्, सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गरे ।
‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ’, उनले भने ।
नेपालमा राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले स्पष्ट पारे । अहिलेको चुनौती सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने उनको सुझाव थियो ।