काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रमणलाई उपलब्धीमूलक बनाउने तयारीस्वरुप पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चीन भ्रमणबारे छलफल भइरहेको छ । छलफलमा पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी,पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्रीहरुलगायत सहभागी छन्।
चीनको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको राजधानी बेइजिङ जान लागेका हुन्।
चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने स्रोतको दाबी छ।