काठमाडौं । भाइटीकाका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभरका लागि खुला गरिएको छ।
दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका लगाउने परम्परा छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा बिहानैदेखि भक्तजन पुग्ने गर्छन्।
ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको इतिहास छ।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पूजा, दर्शन गरी टीका लगाउने परम्परा रहेको छ।