भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी निधारमा सप्तरङ्गी टीका लगाइदिने, मखमली माला पहिर्याउने र मिठामिठा परिकार खुवाउने गर्छन्। त्यसको प्रत्युत्तरमा दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। यस पर्वमा टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीसमेत एकै ठाउँमा भेला भएर टीका लगाउने भएकाले पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि साइतमै टीका लगाउनुपर्ने अनिवार्यता नरहेको र अन्य समयमा पनि टीका लगाउन सकिने समितिले जनाएको छ।
धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। पौराणिक कथाअनुसार यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घर पुगेका थिए। यमुनाले दाजुको पूजा गरी दीर्घायुको कामना गरेकी थिइन्। सोही धार्मिक परम्पराको निरन्तरताका रूपमा भाइटीका मनाउने गरिएको विश्वास छ।