बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

ममता काफ्ले हत्या मुद्दाको फैसला, पति नरेशलाई आजीवन कारावाससम्मकाे सजाय

बुधबार, कार्तिक २५ २०८३

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीशसहितको निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। उनलाई मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत दोषी ठहर गरिएको छ।

सन् २०२४ जुलाई २७ देखि सम्पर्कविहीन भएकी ममता काफ्लेको खोजी गर्ने क्रममा प्रहरीले उनका पति नरेशमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा उनीहरू बस्दै आएको घरमा रगतका दाग, कपालका टुक्रा तथा अन्य शंकास्पद प्रमाण फेला परेका थिए।

अदालतमा बयान दिने क्रममा नरेशले ममताको मृत्यु भएको स्वीकार गरेका थिए। उनले आराले शवलाई टुक्राटुक्रा पारी विभिन्न फोहोरका झोलामा राखेर फालेको बताएका थिए। तर ममताको हत्या आफूले नगरेको र उनले आफैँ विष सेवन गरेका कारण मृत्यु भएको दाबी गरेका थिए।

अभियोजन पक्षले भने विभिन्न भौतिक प्रमाण, निगरानी क्यामेराका दृश्य, दूरसञ्चार विवरण तथा वैज्ञानिक परीक्षणलाई आधार बनाउँदै नरेशले नै ममताको हत्या गरेको जिकिर गरेको थियो।

यस घटनाको अर्को दुःखद पक्ष ममताको शव अझै फेला नपर्नु हो। लामो समयदेखि खोजी गर्दा पनि प्रहरीले उनको शव पत्ता लगाउन सकेको छैन।

प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। अन्य दुई अभियोगमा समेत थप सजाय हुन सक्ने व्यवस्था छ। उनको सजाय निर्धारण आगामी मार्च १२ का लागि तोकिएको छ।

दोषी ठहर भएसँगै अदालतले नरेशको धरौटीसमेत रद्द गरेको छ। यस फैसलालाई ममताका परिवार तथा नेपाल र अमेरिकामा रहेका नेपाली समुदायले लामो समयदेखि प्रतीक्षा गरेको न्यायिक प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा लिएका छन्।