काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मान बहादुर चौधरी रहेका छन्।
पक्राउ मध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।