काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ माथि आर्थिक अनियमितताको आरोप लागेको छ । सिन्धुली जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्दाको आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीको जिल्ला इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा बसेको बैठकले हालसम्म पनि भवन निर्माणको आयव्यय विवरण नबुझाएकाले पार्टी कमिटीमा परिपत्र गरिएको हो ।
उक्त परिपत्र गत साउन १७ गते नै गरिएको भए पनि मंगलवार सार्वजनिक भएको हो । भिन्न दलका नेतामाथि सधैं आर्थिक पारदर्शिताको आवाज उठाउने दाहाल आफैँ कति क्लिन छन् भन्ने प्रश्न उठेको छ ।
भवन निर्माणको करिब ४०–४५ लाख रुपैयाँ जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको आरोप दाहालमाथि लागेको छ । यसबारे दाहाललाई बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको परिपत्रमा उल्लेख गरिएको छ ।
‘जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आयव्यय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रमको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन,’ परिपत्रमा भनिएको छ, ‘गणेश रत्नको भनाइका आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०–४५ लाख रुपैयाँ जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माणको आयव्यय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।’
दाहालमाथि पार्टी इन्चार्ज नहुँदा पनि सिन्धुलीमा आफूखुसी समानान्तर कमिटी चलाएको आरोप छ । दाहालले इन्चार्जसँग परामर्शविना आफू अहिले इन्चार्ज नहुँदा पनि आफूखुसी बैठक राखेर लेवि समेत उठाउने गरेको बताइन्छ ।
बैठकले पार्टीका संगठित सदस्यता विवरण र लेबी बुझाउन यसअघि जिल्ला पार्टीको बैठकले गरेको परिपत्र अनुसार लेबी प्राप्त नभएकाले आगामी भदौं मसान्तभित्र बुझाउन कडाइ निर्देशन समेत दिएको छ
