भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रता
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७–अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन । आज भुवनले ५–अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पारेका हुन ।
दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १–ओभर ६९ मा खेल सकाए। समग्रमा १–अन्डर २ सय ३ सहित दोस्रो स्थानमा तल झरे । तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन–पार २ सय ७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन । तोरणले दिनकै उत्कृष्ट ७–अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए ।
समग्रमा २–ओभर २ सय ६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २–अन्डर ६६ र सञ्जयले इभन–पार ६८ मा खेल सकाए । यस्तै समग्रमा ३–ओभर २ सय ७ सहित सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । सुबाशले इभन–पार ६८, जयरामले १–ओभर ६९ र रविले ३–ओभर ७१ मा खेल सकाए ।
एमेच्योरतर्फ सदभाव आचार्य समग्रमा ६–ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिए । आज उनले ३–ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे । टासीले आज ९–ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११–ओभर २ सय १५ सहित दोस्रो स्थानमा तल झरे । राहुल विश्वकर्मा समग्रमा २३–ओभर २ सय २७ सहित तेस्रो स्थानमा छन । उनले आज ७–ओभर ७५ को स्कोर खडा गरे ।
भुवनले उत्कृष्ट सुरूवात गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ६–अन्डर २८ मा सकाए । तर ब्याक नाइन भने १–ओभर ३५ मा पुरा गर्न बाध्य भए । ११ औं र १७ औं होलमा बोगी प्रहार गरे भने ४–पारको १६ औं होलमा डबल बोगीको सामना गरे। उनले १२ औं, १४ औं र १८ औं होलमा एक–एक सट बचाए ।
दिनेशले दोस्रो होलको बर्डी विरूद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । यसपछि १० औं, १३ औं र १४ औं होलमा एक–एक सट बचाए। तर ११औं होलमा ट्रीपल बोगीको सामना गर्दा ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे ।
दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले । दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १० औं, ११ औं र १७ औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३१ मा सकाए । निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे । तर १० औं, १२ औं, १६ औं र १८ औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन १–ओभर ३५ मा सकाए ।
चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन। टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन ।