बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रेममा खटपट भएपछि नर्स दासको हत्या गरेर प्रेमीले गरे आत्महत्या

सोमबार, चैत्र ५ २०८०

विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलासा भएको छ ।

प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।

शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा दासको शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।

चन्द्रिका कुमारीको हत्या भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले उनकै प्रेमी शिवशंकर अनुसन्धाको घेरामा थिए । तर उनी फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो ।

फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ ।

ती मध्ये २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको छ ।

प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए । उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ । विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु भनेर शिवशङ्करले दिदीलाई आइतबार दिउँसो फोन समेत गरेको भन्ने छ।’

हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।