काठमाडौं । जारी त्रिकोणात्मक टी २० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो।
शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि नेपालले आजको खेलमा जितै पर्ने हुन्छ ।
नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्याण्ड सहभागी छ ।
नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित्नु पर्ने छ ।