काठमाडौं । पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढेका कारण विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । तर उनले दिएको राजीनामामा व्यक्तिगत कारण उल्लेख छ ।
सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ ।
कार्यबोझका कारण परिवारलाई समय दिन नसकेको कारण देखाउँदै उनले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
उनले शुक्रबार राजीनामा दिएका हुन् । ०५१ मा इन्स्पेक्टर पदबाट भर्ना भएका चन्दको जागिर अवधि करिब एक वर्ष बाँकी थियो । उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा रहँदा उनकै अग्रसरतामा भिजिट भिसामा भइरहेको मानव तस्करीको खुलासा भएको थियो । तर, एकाएक उनको राजीनामाले नयाँ बहस सुरु भएको छ ।
तस्करीकै कारण केही दिन अस्ति एयरपोर्टमाअध्यागमन कर्मचारी–प्रहरी कुटाकुट पनि भएको समाचार बाहिरिएका थिए । उनी निकटका अनुसार पहिलो कारण त राम्रो काम गर्दागर्दै मूल्यांकन नभएको, त्यो झगडामा अध्यागमन कर्मचारीले पहिले हात छाडेको देख्दादेख्दै आफूमातहतका कर्मचारीलाई गरिएको निलम्बनप्रति उनको असहमतिका कारण राजीनामाको तहसम्म पुगेको हो ।
डिआइजी चन्दले गत वैशाखमा विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। जिम्मेवारी सम्हालेलगत्तै उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबीच मतभेद सुरु भएको देखिन्छ। केही दिनअघिको कुराकानीमा डिआइजी चन्दले आफूले जिम्मेवारी सम्हालेपछि भिजिट भिसामा शंकास्पद यात्राको चाल पाएको दाबी गरेका थिए।
‘नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अरू केही होइन,’ उनले भने । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाउने तयारी गरेको छ ।