सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ ।
सहकारीका बचतकर्ताको रु. डेढ अर्ब बढी रकम लिइ फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।
नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत सङ्कलनबापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्नका लागि गत भदौमा पत्र पठाएको थियो ।
नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध एक हजार चार सय ८१ जनाले उजुरी दर्ता गराएका छन् । केसीका अनुसार बागलुङमा मात्रै सहकारीले आठ सय सेयर सदस्य र तीन हजार दुई सय बचतकर्ताको रु डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फरार नेपालीको जीवनशैली, हेलिकप्टरमा सयरदेखि दल बदल गरेका थिए । दल फेरेर चुनाव जितेका नेपाली दोस्रो पटक मेयर बन्न सकेका थिए । उनी सामान्य कार्यक्रममा पनि पोखराबाट हेलिकोप्टर चार्टर गरेर पुग्ने गर्थे ।
नेपाली २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेर टिकट लिएका नेपाली चुनाव जित्न सफल भएका थिए ।
उनी ०७९ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट नै उम्मेदवार बनेर, चुनाव जित्न सफल भएका थिए ।
कुनैबेला घरको छतमा हेलिकप्टर ल्याण्ड गर्ने र नगरप्रमुख हुँदा पीएसओ लिएर हिँड्ने उनी अहिले नेपाल प्रहरीको फरार सूचीमा रहेका छन् ।
आफ्नो पहिलो कार्यकालमा उनले ‘ढोरपाटनका मजदुरहरू काम नपाएर भोकै बस्ने अवस्था आए आफू ‘एक्लैले ६ महिना पाल्ने घोषणा’ गरेका थिए । तर अहिले मतदाताकै पैसा खाएर उनी भागेका छन् ।
उनले ढोरपाटन नगरपालिका मात्र नभई पोखरा र काठमाडौंमा रहेका आफ्ना व्यवसाय तथा भाडामा बस्ने सबैलाई भाडा छुटकाे घोषणा समेत गरेका थिए । काठमाडौंको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोकसहित १४ वटा वित्तीय र अन्य व्यावसायिक संघ संस्थाहरूले भाडामा लिएका आफ्ना घरको भाडा छुट गरेका थिए ।