काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।
उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालक रहेका छन् । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । यही क्रममा किशोरी रूखमा झुन्डिन तयार भएको अवस्थामा फेला परिन् । परिवारका सदस्यले तत्काल उद्धार गरे । सोधपुछमा उत्रिए ।
यही क्रममा किशोरीले सामूहिक बलात्कारको सिकार भएको बताएपछि परिवारका सदस्यले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर घटनामा संलग्न हुनेहरू पहिचान भएको/नभएकोबारे प्रहरीले किशोरीसँग जानकारी लिएको थियो । तर, किशोरीले कसैलाई नचिनेको बताएपछि प्रहरी शंकास्पद व्यक्तिको खोजी जुट्यो । यही क्रममा चारजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।