सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आफूलाई ‘लिटल बुद्ध’ भन्ने बम्जनको घरमा नेपाली र विदेशी मुद्राको गड्डी

बिहिबार, पुष २६ २०८०

काठमाडौं । आफूलाई ‘लिटल बुद्ध’ बताउने बालयौन दूराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनलाई मंगलबार बूढानीलकण्ठ नगरपालिकामा पर्ने हात्तीगौँडास्थित आफ्नै घरबाट पक्राउ गरेको हो । बम्जनलाई बुधबार दिउँसो महाराजगञ्जमा पत्रकार सम्मेलन गरी सिआइबीले सार्वजनिक गरेको हो ।

बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिएकी थिइन् । त्यसको पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन । प्रहरीले बम्जनको खोजीका लागि उनका केही आश्रमहरूमा समेत ‘सर्च अपरेसन’ समेत चलाएको थियो, तर भेटिएका थिएनन् । शक्तिकेन्द्रलाई प्रभावित पारेर बारा, सिन्धुलीलगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता फरार थिए ।

बमजनका आश्रमबाट तीनजना आनीहरू बेपत्ता पारिएका छन् । यस्तै, बमजनका दुई अनुयायी पुरुष पनि आश्रमबाट बेपत्ता छन् । उनी आर्थिक अपराधमा समेत मुछिएका छन् । उनको घरबाट करोडौँ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, उनको विलाशी जीवनशैलीसमेत सार्वजनिक भएको छ । उनले तपस्वीको अवरणमा अपराधपूर्ण व्यापार गरिएको बरामद नगद र महँगा र विलासी जीवनशैलीले देखाउँछ । ‘तपस्वी’को भेषमा विलासी जीवनशैली जिउने गरेको तथ्य पत्ता लागेको छ । बम्जनले करोडौँ मूल्यका गाडी र लाखौँ मूल्यका मोटरसाइकलहरू प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि पाँच करोड मूल्य पर्ने ल्याण्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको समेत खुलेको छ । त्यसका लागि तीन करोड रुपैयाँ भुक्तानीसमेत भइसकेको पाइएको छ ।

उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । पटक(पटकको प्रयासमा पनि बम्जनलाई सिआइबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर, यसपटक उनी काठमाडौंकै हात्तीगौँडास्थित घरबाटै समातिए । सिआइबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए । अन्तत उनलाई पक्राउ गर्न प्रहरी सफल भएको बताइएको छ ।

उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो । सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो ।

सिआइबी स्रोतका अनुसार बम्जनको अघिल्लो अंग्रेजी अक्षर ‘बी’बाट ब्लु नाम दिइएको हो । यसअघि २०७८ सालमा सिआइबीले अप्रेसन ‘डेडलक’ नाम दिएर बम्जनको खोजी गरेको थियो । सिआइबीले ठूला अनुसन्धानमा अप्रेसनलाई नाम दिने गरेको छ । सिआइबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । सिआइबीले घरमा खानतलासी गर्दा तीन करोड ३४ लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ बरामद गरेको हो । यस्तै, र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि बरामद भएको सिआइबीले जनाएको छ ।

मंगलबार सिआइबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । उनको घरबाट प्रहरीले विभिन्न ब्राण्डका १५ थान मोबाइलसमेत बरामद गरेको छ । बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्राण्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।