सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

तनावमा देउवाः प्रधानमन्त्री फेर्ने कि मन्त्री ?

मंगलबार, पुष १७ २०८०

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेरको विषयमा निकै तनावमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिलेका मन्त्रीहरू हेरफेर गरेर नयाँ गियरसहित सरकार हाँक्ने सुरमा रहेका छन् । त्यही सुर र योजनासहित प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमा बोलेका पनि छन् । तर, प्रधानमन्त्री प्रचण्डकै उक्त प्रयासका कारण कांग्रेसभित्र भने लफडा हुन पुगेको छ ।

जसले गर्दा, सभापति देउवा अहिले के निर्णय लिने भन्नेमा समस्यामा देखिन्छ । कांग्रेसको एउटा पंक्ति सरकारमा गएका मन्त्री होइन, प्रधानमन्त्री नै फेरौं भन्ने तर्कमा रहेका छन् भने अर्कोतिर नयाँ मन्त्री पठाऊँ भन्नेमा देखिन्छ । सरकारको नेतृत्व परिवर्तन गर्ने कुरा संस्थापन इतरसमूहका नेताहरु शेखर कोइराला, गगन थापामात्र होइन्, संस्थापन पक्षका केही नेताहरु नै सक्रिय रहेका छन । सभापति देउवालाई प्रचण्डको विकल्प खोज्नुपर्ने सुझाव दिइरहेका छन् ।

त्यसैकारण, अहिले प्रधानमन्त्रीलाई मन्त्रीहरु हेरफेरमा सहयोग गर्न नहुने कांग्रेसका उक्त समूहको तर्क रहेको छ । त्यसैले, सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई फागुनको कांग्रेस महासमिति बैठकअघि मन्त्रिपरिषद् हेरफेर गर्न नसकिने संकेत दिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार राष्ट्रियसभा चुनावअघि त कुनै हालतमा पनि मन्त्रिपरिषद्का सदस्य यताउता गर्ने स्थिति रहेको छैन । राष्ट्रियसभामा जान खोजेका र नपाएकोहरुको असन्तुष्टिले माघ ११ गतेको चुनाव नै प्रभावित हुन सक्ने र गठबन्धनमै समस्या आउने संभावनाको आंकलन गरेर मन्त्रीहरु हेरफेर नहुने बताइएको छ ।

त्यसैले, अहिले कांग्रेस सभापति देउवाले फागुनमा मन्त्रीहरु हेरफेर हुने संकेत गरेका हुन् । तर, उनले महासमिति बैठक भनेका फागुनमा पनि देउवा महासमिति बैठक डाक्ने मुडमा भने नरहेको बताइन्छ । कांग्रेसबाट अहिलेको सरकारका दुवै समूहबाट उपसभापति तहका नेता मन्त्री रहेका छन् । पार्टीको प्रवक्ताको हैसियतमा रहेका नेता पनि मन्त्री रहेका छन् । उनीहरुलाई वीचमै तान्ने हो भने कारबाही गरेजस्तो हुने भन्दै कांग्रेसभित्र मन्त्रीहरु हेरफेर गर्न नहुने तर्क गर्नेहरुको भनाइ रहेको छ ।

उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ दुवैको प्रयास निरन्तरतामा रहेको छ । प्रवक्तासमेत रहेका प्रकाशशरण महत पनि देउवालाई बरु प्रधानमन्त्री बनाउने प्रचण्डको क्याबिनेटबाट फिर्ता नहुने लाइनमा रहेका छन् । त्यसैले, अहिले कांग्रेसका मन्त्रीहरुमध्ये कसकसलाई फेर्ने भन्नेमा चाहिँ टाउको दुुखाईको विषय बनेको बताइन्छ । कांग्रेसबाट मन्त्री भएकाहरुमध्ये प्रकाशशरण महत र प्रधानमन्त्री प्रचण्डको आर्थिक मामिलासँग जोडिएका कतिपय निर्णयमा महतले अवरोध गर्ने प्रयास पनि गरेका छन् । त्यसैले, प्रचण्ड चाहिँ महतको विकल्पमा रहेका छन् ।

त्यतिमात्र होइन, सहरी विकास मन्त्री सीता गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बु, महिला मन्त्री सुरेन्द्रराज आचार्यले अपेक्षित काम नगरेको कांग्रेसभित्रै प्रश्न उठेको छ । त्यसैले, पनि मन्त्रीहरुको हेरफेर हुने संभावना भने रहेको बताइन्छ । साँघु साप्ताहिकबाट