काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेपछि एकीकृत समाजवादी (एस) मा भने भाँडभैलो मच्चिन थालेको छ । मन्त्रीका लागि पहिलो चरणमा दौडधुपमा राष्ट्रियसभा सदस्यदेखि प्रतिनिधि सभाका सांसदहरु रहेका छन् । दुई मन्त्रीका लागि प्रतिनिधिसभाका ८ जना सांसद नै दौडमा छन् । नेकपा एसका १० जना सांसद मध्ये दुईजना अध्यक्ष माधव नेपाल र अहिलेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला उक्त दौडमा हुने छैनन् ।
अध्यक्ष माधव नेपालले एक वर्षअघि पहिलो चरणमा मन्त्री बनाउँदा राष्ट्रियसभाका सदस्य बेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री र नन्दा शर्मालाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाएका थिए । राष्ट्रियसभाबाट त्यतिबेला दुईजनालाई अवसर दिएका कारण प्रतिनिधिसभाका सदस्यहरु आक्रोशित थिए ।
अहिले भने भरसक प्रतिनिधिसभाबाटै मन्त्री बनाउन दबाब बढ्न थालेको छ । पार्टीभित्र नेताहरुले अनौपचारिक कसरत पनि गर्न थालेका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डे अहिले मन्त्री बन्ने कसरतमा रहेका छन् । उनी पहिला पनि मन्त्रीका लागि दौडमा लागेका थिए । तर, एक वर्षअघि पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीबाट प्रतिनिधिसभाको चुनाव जितेर आएका थिए । त्यसैले, तत्काल अर्को अवसर दिन नहुने भन्दै आवाज उठेपछि उनलाई रोकिएको थियो ।
पाण्डे अहिले पनि दौडमा लागेपछि पटकपटक एउटै व्यक्तिलाई अवसर दिन नहुने भन्दै अन्य सांसदहरु विरोधमा देखिन थालेका छन् । माधव नेपालको चुनावका लागिमात्र होइन, पार्टी बनाउनका लागि निकै आर्थिक सहयोग गरेका बाराबाट निर्वाचित किसान श्रेष्ठ एक वर्षअघि नै मन्त्री हुन खोजेका थिए । त्यतिबेला मन्त्री नपाएका श्रेष्ठलाई अर्कोपटक सेट गर्ने भनेर माधव नेपालले थामथुम पारेका थिए । अहिले श्रेष्ठले मधेशबाट आफूमात्रै निर्वाचित भएका कारण मन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् । श्रेष्ठ एक वर्षअघि माधव नेपाल र केपी ओली मिलाउने सुत्रधारको रुपमा पनि देखिएका थिए ।
त्यसैगरी, पहिलादेखि नै आश्वसन पाएका तर मन्त्री हुन नपाएका डोल्पाका सांसद धनबहादुर बुढा पनि मन्त्रीको प्रतिस्पर्धामा रहेका छन् । उनी पहिला पर्यटन राज्यमन्त्री भएका थिए । उनले पर्यटन मन्त्रालयले दाबी गरेर मन्त्री खोजिरहेका छन् । बुढाका लागि सांसद प्रेम आलेले पनि साथ दिएका छन् । आलेले आफू मन्त्री नहुने अवस्थामा विकल्पको रुपमा बुढालाई अगाडि सारेका छन् । यद्यपी, बुढाले पर्यटन मन्त्रालयअन्तर्गत लुम्बिनी क्षेत्रको एक परियोजनाको ठेक्का लिएका कारण उनको स्वार्थ बाझिने गरी मन्त्री बनाउन नहुने तर्क पनि एसभित्र उठेको छ ।
मन्त्रीको दाबी गरिरहेका भानुभक्त जोशीलाई संसदीय समितिको सभापति बनाएर तत्कालका लागि माधव नेपालले थामथुम पारेका छन् । अछामका शेरबहादुर कुँवर पनि अहिले मन्त्रीको दाबीमा छन् । त्यसैले, माधव नेपालको पार्टीबाट कसलाई मन्त्री छान्ने भन्ने निकै अफ्ठ्यारो देखिएको छ । त्यसमाथि पनि नेता झलनाथ खनालले भाग खोज्दा उनको समूहबाट एकजना मन्त्री हुने स्थिति आउँछ । त्यस्तो अवस्थामा आंकाक्षीलाई सेटल गर्न गाह्रो हुने अनुमान एसभित्र भइरहेको छ ।
खनालको टीमबाट अहिले प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् भने माधव नेपालको समूहबाट बेदुराम भुसाल कृषिमन्त्री रहेका छन् । एसभित्र चलेको चर्चा अनुसार अहिले मन्त्रालयहरु पनि परिवर्तन गर्नेगरी छलफल अगाडि बढेको छ । साँघु साप्ताहिकबाट