काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइका लागि पुस ८ गते आइतबारको पेशी तारेख दिइएको छ ।
काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको पेसी आजका लागि तोकिएको छ। आज मुद्दाको किनारा लगाउने बताइएको छ ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।
यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाडौं गौशाला प्रहरी कार्यालयमा एक किशोरीले उजुरी दिएकी थिइन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई २०७९ साल पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिदिएको थियो। सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।