काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित क्रिसमस फेस्टिभलमा धर्मबारे दिएको एउटा अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन् । क्रिश्चियन धर्मावलम्बीको कार्यक्रममा गएर दिएको अभिव्यक्तिका कारण उनी आलोचित बनेका हुन् । प्रतिपक्षी दलका नेता र हिन्दू धर्मावलम्बीहरूले मन्त्री किरातीको अभिव्यक्तिप्रति घोर कटाक्ष गरिरहेका छन् ।
उनको अभिव्यक्तिप्रति राजनीतिक दलका नेतादेखि सामान्य नागरिकसम्मले आलोचना मात्र गरेका छैनन्, राजीनामा समेत मागिरहेका छन् । कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ‘क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोही’को संज्ञा दिएका थिए ।
उनले भनेका थिए, ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने, जेलमा हाल्ने हो ।’
मन्त्री किरातीले संसारमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरेका थिए ।
मन्त्री किरातीले आफू मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत धार्मिक विवादमा मुछ्ने प्रयास गर्दै भनेका थिए। ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिसस जस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्ड जस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मनपर्छ रे ! ’ उनले भनेका थिए । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भनेर संविधानमै लेखिएको हुनाले कसैको डरत्रासमा बस्नु नपर्ने उनको भनाइ थियो ।
यही बोलीकै कारण उनको चर्को आलोचना भइरहेको छ । उनले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणीसमेत कतिपयले गरेका छन् । किरातीको अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीत भएको समेत कतिपयको टिप्पणी छ । यति मात्रै होइन यही अभिव्यक्तिकै कारण उनलाई बर्खास्त गर्नुपर्नेसमेत आवाज उठेको छ । राजनीतिक दलकै नेताहरूले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताले आलोचना गरेका छन् । जिम्मेवार पदमा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीको चर्को आलोचना गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा मागेका छन् । एमाले नेता गोकुल बास्कोटाले पनि मन्त्री किरातीको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् । बास्कोटाले थुन्नैपर्ने देशद्रोही ! अरू धर्म मान्ने०को संख्या करिब ९८ प्रतिशत रहेको भन्दै उनीहरूलाई थुन्न कत्रो जेल बनाउला त ? भन्ने व्यंग्यात्मक टिप्पणी गरे । बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको पनि टिप्पणी गरेका छन्।
राप्रपा महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीले दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । मन्त्री किरातीले माफी माग्नुपर्ने राणाले माग गरे । राप्रपाले विवादस्पद अभिव्यक्ति दिएका मन्त्री किरातीलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मन्त्री किरातीको अभिव्यक्ति ‘अतिवादमा आधारित’ भएकाले राजीनमा मागेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किरातीलाई बर्खास्त गर्न माग गरेका छन्।
रास्वपाका सभापति रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन् ‘संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ रु प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मन्त्री किरातीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले देश नै जेलमा परिणत गर्नुपर्ने टिप्पणी गरेका छन् । ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिनँ भन्नु चैँ संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेल हाल्दिने हो । अब देशलाई नै जेलमा परिणत गर्नु पर्ने भो त,’ उनले भनेका छन्, ‘याद गरौँ क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई छ । हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ ।’
नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ । मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोधमा संगठनले बिहीबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।