आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अबको २८ दिनभित्र मेलम्चीको पानी काठमाडौँमा झर्ने

बुधबार, पुष ४ २०८०

काठमाडौं । अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ ।

विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएका छन् ।

वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौँ झरेको छैन । मर्मत र सरसफाईका लागि कामको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम समेत अघि बढाएको छैन ।

प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताए ।

२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई दृष्टिगत गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्‍याएको थियो ।