काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ ।
गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको थियो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आव्हानसमेत गरेको थियो । समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन ।
आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ । उक्त बैठकले निर्णय लिने बताइएको छ । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।