आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजसंस्थासहितको हिन्दु राष्ट्रका लागि राप्रपाले देशभर आन्दोलन गर्ने

मंगलबार, पुष ३ २०८०

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दुराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ।

आइतबारबाट बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ। फागुन महिनामा मेची–महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ।

त्यस्तै, आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ। बैठकले डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ।

कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङ्देनले बताए।

उनका अनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।