आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै फैसला आउने

मंगलबार, पुष ३ २०८०

काठमाडौ । सर्वोच्च अदालतमा एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटमाथिको सुनुवाइ सकिएको छ।

उक्त मुद्दाको रिटमाथिको सुनुवाइ सकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

उनका अनुसार सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउने छ । यसअघि रिटमाथि सुनुवाइका लागि पटकपटक पेशी तोकिदै आएपनि ;हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।

तर आज भने सो रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै अघिल्लो शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ ।

आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा उल्लेख छ।

एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर समेत गरएको छ ।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।