आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प छैन : शेखर कोइराला

'राजनैतिक नेतृत्वको मिलेमतो बिना एनसेल प्रकरण हुनै सक्दैन'

शुक्रबार, मंसिर २९ २०८०

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संवादमा कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेकाले सरकार परिवर्तन हुनुपर्ने बताए ।

सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले कांग्रेसको नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्न सक्ने दाबी गरे ।

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने दावस् गर्दे नेता कोइरालाले भने, ‘सरकारसँग जनता निराश भएका छन्, जताततै वेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता तर्फ देश उन्मुख भएको पनि बताए। कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्ने नेता कोइरालाको तर्क थियो ।

आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन ।’ नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिए।

पहिचानवादीहरु सित वार्ताको टेबलमा बसेर विवाद मिलाउन सुझाव दिँदै डा. कोइरालाले भने, ‘कोशी नामका विषयमा विवाद छ , त्यसलाई असन्तुष्ट पक्षसँग बसेर समाधान गर्नुपर्छ ।’

त्यस्तै नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतो बिना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा समेत गरे ।