आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जनतामा फैलिएको निराशा तोड्न समृद्धिका लागि संकल्पयात्रा अभूतपूर्व रूपमा सफल : महासचिव पोखरेल

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको बताएका छन् ।

साथै उनले संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको समेत बताए ।

अभियानका क्रममा भोजपुर पुगेका उनले पत्रकारसँग कुरा गर्दै अभियानको क्रममा नागरिकमा सोचे भन्दाबढी उत्साह देखिएको बताए ।

भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको उनको भनाइ छ । समाजलाई बस्तुगत आधारमा आशावादी बनाउनु पर्नेमा उनले जोड दिए । ‘नेपालको राजनीति प्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो’, उनले भने ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको एमाले अध्यक्ष केपी आली प्रतिको आकर्षण अभूतपूर्व पाइएको उनले बताए । फरक बिचार राख्ने अभिभावकका बालबालिका समेत ओलीलाई हेर्न र भेट्न यात्रामा सामेल भएको उल्लेख गर्दै कथित बौद्धिक जमातले नेतृत्वको आलोचना गर्ने गरेको भए पनि जनताको हेर्ने दृष्टिकोण भने फरक भएको कुरा यात्राको क्रममा प्रमाणित भएको पोखरेलले बताए ।

नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरेभन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको उनले भने। नागरिक सडकमा आएपछि उहाँहरूलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भएको कारण यात्राको समय लम्बिएको उनको भनाइ थियो ।

नेपाली जनताले संघर्ष गरेर पराजित गरेको राजतन्त्रलाई समेत ब्युँझाउने, देशमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएको बेला एमालेले सञ्चालन गरेको अभियानले सबै शक्तिलाई परास्त गरेको उनले दाबी रे । ‘जनताको अजेय शक्तिलाई एक पटक पुष्टि गरेको छ, लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम हो भन्ने कुरालाई यसले पुनः पुष्टि गरेको छ, त्यस अर्थमा यसले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ’, उनले भने ।

पोखरेलले पहाडी क्षेत्रमा विकासको परिवर्तन हुँदैछ भन्ने सन्देश आफूहरूले यात्राको क्रममा पाएको बताए ।

पूर्वाधार विकास र पहाडको बसाइसराइ कसरी रोक्न सकिन्छ भन्ने अध्ययन गर्नु यात्राको मुख्य उद्देश्य रहेको पोखरेलले बताउनुभयो । ‘मध्यपहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्यपहाडी राजमार्गलाई बनाउन सक्दछौँ’, उनले भने ।