आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्रीकी छोरी गंगामाथि अमरेशले लगाएको आरोप छानबिन नगरे अनेरास्ववियुले आन्दाेलन गर्ने

मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको सचिवालय अन्तर्गत उनकी छोरी तथा स्वकीय सचिव गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ ।

अनरोरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण भएको जनाएका छन् ।

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

देशको प्रधानमन्त्रीप्रति लक्षित यस्ता अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री, मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरु जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको भन्ने कुराले समग्र राष्ट्रको शिर निहुराउने गरी लज्जाको विषय भएको अनेरास्ववियुले जनाएको छ ।

बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जो कोही भएपनि छानविनको दायरामा ल्याएर दोषीमाथि कडा कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ ।

शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधिउपर मुकदर्शक बनिरहे अनेरास्ववियुले भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्रको भण्डाफोर गर्दै सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।