काठमाडौं- पर्साको बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम २१० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ४० वर्षीय समिर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१५ आदर्श टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम र नगद ९९ हजार ७५ रूपैयाँसहित सोही टोल डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका–५ घर भएकी २० वर्षीया बिमला परियार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।