अख्तियार प्रमुख आफ्नै मान्छे भएको हवला दिँदैै अवैध धन्दा
काठमाडौं । स्वास्थ्य व्यवसायी संघको नाममा कालोसूचीमा परेका सप्लायर्सले स्वास्थ्य क्षेत्रमा आंतक मच्चाएका छन् । उनीहरुले आफू आवद्ध फर्म कालोसूची परेपनि अख्तियार प्रमुख र मन्त्रीको हवला दिँदै स्वास्थ्यमा आतंक मच्चाएका हुन् ।
गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने र आफूले मोटो कमिसन लिने उनीहरुको दिनचर्या नै बनेको छ ।
यतिबेला कालोसूचीमा परेका व्यक्तिले गैरकानुनी काम गर्न कर्मचारीलाई दबाव दिएको गुनासोले व्यापकता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय स्रोतका अनुसार स्वास्थ्य व्यवसायी संघको नाममा ती व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा आतंक सृजना गरेका छन् ।
उनीहरूका गतिविधिबारे उच्च तहमा अनुसन्धान सुरु भएको छ ।
स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा टेन्डर हालेर नक्कली डकुमेन्ट पेश गरेको र गुणस्तरहित सामान ल्याएको प्रमाणका आधारमा आफूलाई स्वास्थ्य व्यवसायी संघको अध्यक्ष बताउने नवराज बस्नेत र नेशनल बायोमेडिकल सप्लायर्स दुवैलाई विश्व बैंकले कालोसूचीमा राखेको छ ।
यी यस्तो किर्ते सप्लायर्सले स्वास्थ्य क्षेत्रका नियमित खरिद प्रक्रियालाई समेत असर पार्दै आएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् । आफूले नपाए अरुलाई पर्न नदिने भन्दै उनीहरूले अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत उजुरी गरेर गलत प्रयोग गरिरहेको अधिकारीहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नवराज बस्नेत, नारायण कार्की स्वास्थ्य प्रणाली सुदृढीकरण अभियानमा अवरोध गर्ने व्यक्तिहरू भएको दाबी गरे । कार्कीलाई विशेष उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लाग्दा गल्ति नदोहोर्याउने सर्तमा छाडिएको थियो । बिचमा केही समय उनी सम्पर्कमा थिएनन् । हाल फेरि विभिन्न प्रदेश र अस्पतालका प्रमुखहरूलाई धम्याउने गरेको गुनासो आउँन थालेको छ ।
नारायण कार्कीलाई अर्का मतियारको रुपमा लिने गरेको छ । उनले विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका बेला हालीमुहाली गरेका थिए । उनै कार्कीको सिफारिसमा मन्त्री खतिवडाले स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको सरुवा गर्ने, गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधिको खरिद गर्न निर्देशन दिने गरेको उच्च स्रोतको भनाइ छ ।
मेडिकल सामग्री र औषधिको सप्लायर्सको काम गरिरहेका नारायण कार्कीको सिफारिसमा खतिवडाले अवधि नपुगेका कर्मचारीको सरुवा र गुणस्तरहीन औषधि खरिदमा दबाब दिने गरेको खुलेको कर्मचारीहरूको गुनासो थियो ।
स्वास्थ्यमन्त्री खतिवडाले मातहतका कार्यालयलाई ‘नारायण कार्कीले भने अनुरुपको काम गर्नु’, भनेर सिधै निर्देशन दिने गरेका थिए ।
यी र यस्ता किर्ते व्यवसायीका नाममा आम नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको छ । अहिले देशभर डायलासिसका बिरामी पालोको पर्खाइमा रहेका छन् । उपकरण अभावले सेवा नपाएर कयौं बिरामीको मृत्यु भएको छ । तर, जनताको स्वास्थ्यमा कति पनि चिन्ता नभएका उनीहरूले सेवालाई अवरुद्ध बनाउन कम्बर कसेर लागेको बुझिएको छ ।
विश्व बैंकको कालोसूचीमा परेका कारण बस्नेत विश्व बैंक कै खरिद प्रभावित बनाउन लागेको अधिकारीहरू बताउँछन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद सम्बन्धी परेको उजुरीहरूमध्ये ८० प्रतिशत उजुरी यी नै व्यक्तिले हालेको देखिएको अख्तियार र सतर्कता स्रोत बताउँछ ।
आवश्यकता नै नभएको विषयमा पनि स्वार्थका हिसाबले उजुरी हालेको देखिन्छ । यसले गर्दा उजुरी हाल्नेहरू माथिपनि निगरानी बढाउन आवश्यक देखिएको भन्दै सम्बन्धित निकायमा छलफल हुन थालेको छ ।
प्राप्त विवरण अनुसार विश्व बैंकले बस्नेत सञ्चालक रहेको नेशनल बायोमेडिकल सप्लायर्स सन् १० अप्रिल २०१८ देखि ०९ अप्रिल २०२४ सम्म खरिद नियम अनुसार कालोसूचीमा राखिएको छ । त्यस्तै नवराज बस्नेतलाई समेत विश्व बैंकले १० अप्रिल २०१८ देखि निरन्तर कालोसूचीमा राखेको जनाएको छ ।
पहिलो यो समूह केमसनमा आवद्ध थिए । तर, नियत गलत भएकाले लामो समय त्यहाँ टिक्न सकेनन् । ७ वर्ष अगाडि नै उनीहरूले केमसन छाडेको केमसनका अध्यक्ष भक्त हमाल बताउँछन् । उहाँहरूको विषयमा गुनासाहरू धेरै सुनिएका छन्, अध्यक्ष हमालले भने, ‘हामीबाट बाहिरी सक्नु भएको छ ।’, धम्क्याउने काम नगर्नुपर्ने किन गरिरहेका छन् भनेर उनले आश्चर्य समेत प्रकट गरेका छन् ।
विश्व बैंकको कालोसूचीमा रहेका सप्लायर्सले स्वास्थ्य उपकरण खरिदमा आतंक मच्चाउन थालेपछि यो विषय अहिले चर्चामा आउन थालेको हो । स्वास्थ्य क्षेत्रका खरिदमा हुने बदमासीलाई यो प्रकरणले थप उजागर गरेको छ ।