आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एनसेल बिक्री प्रकरणबारे सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने : ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’

बिहिबार, मंसिर २१ २०८०

काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल आजियटा प्रकरणमा देशमा ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको बताएका छन् ।

यसले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको उनले टिप्पणी गरेका छन् ।

चौधरीले सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै गएको समेत बताएका छन् ।

चौधरीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको समाचार बाहिरिएसँगै चौधरीले देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको बताएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा एनसेल शेयरखरिद विक्रीबारे अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको छ ।

समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।