काठमाडौं । शेयर बिक्रिको विषयमा दूरसञ्चार प्रदायक कम्पनी एनसेलको विवादमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको नाम जोडिएको छ ।
कर छलीको विषयमा विवादमा तानिएको उक्त कम्पनीको शेयर बिक्रिको आधिकारिकता प्रदान गर्नका लागि गंगा दाहालले नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम दाहाललाई दबाब दिएको आरोप लागेको हो।
यो आरोप अरु कसैले नभएर प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले पत्रकार सम्मेलन गरी लगाएका थिए। राज्यका विभिन्न निकायका नियुक्तिदेखिका विषयमा गंगाको भूमिका शंकास्पद रहेको चर्चा भइरहेका बेला यो ठूलो प्रकरणमा पनि नाम जोडिएको हो। यद्यपि, यस विषयमा प्रधानमन्त्रीको सचिवालयले कुनै प्रतिक्रिया दिइसकेको छैन।
गंगा प्रधानमन्त्री प्रचण्डकी छोरी मात्र नभएर स्वकीय सचिव तथा कुटनीतिक मामला भेटघाटमा प्रथम महिलाको हैसियतमा उभिँदै आएकी छन्।
भारतदेखि विभिन्न भ्रमणका क्रममा गंगाको उपस्थिति र सक्रियतालाई लिएर प्रश्न उठेको थियो भने माओवादी केन्द्रीय समितिमा पनि चर्को आलोचना भएको थियो। गंगा माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन्। तर ठूलो विवाद रहेको एनसेल प्रकरणमा उनको भूमिका कसका लागि हो भन्नेचाहिँ खुलेको छैन।
एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा गडबड भएको हुन सक्ने भन्दै सार्वजनिक लेखा समितिले छानबिन बढाइसकेको छ। यसमा पनि प्रधानमन्त्री प्रचण्डका तर्फबाट गंगाको हस्तक्षेप भएको भनी चर्चा हुन्छ ।
एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको सेन्ट कीट्स एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर बिक्री गरिएको गत साता उक्त कम्पनीले नै सार्वजनिक गरेको थियो।
रेनोल्डस् होल्डिङको शत प्रतिशत शेअर आजियाटा यूके लिमिटेडले नेपाली मूलका सिङ्गापुरका नागरिक लगानीकर्ता रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको एनसेल र आजियाटाले जनाएका थिए।
यसअघि रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको शेयर आजियाटा यूके लिमिटेडले विसं २०७२ चैत २९ गते किनेको थियो।
त्यस क्रममा नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकरलगायतका करहरू नबुझाएको विषयमा विवाद उत्पन्न भएको थियाे। उक्त विषय नेपालको सर्वोच्च अदालतसँगै अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष पनि पुगेको थियो।
अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले गत जुन २०२३ मा नेपाल सरकारको पक्षमा अन्तिम निर्णय दिएको थियो। नेपाली अदालतले पनि आजियाटा तथा एनसेलले नेपालमा लाग्ने पुँजीगत लाभकरसहित दायित्व तिर्नुपर्ने फैसला गरेको थियो।
विसं २०७२ सालमा टेलियासँग आजियाटाले किनेको मूल्यभन्दा अति नै न्यून रकममा बेचिएकाले ‘राजस्व छली’का लागि त्यसो गरिएको हो कि? भन्ने प्रश्न पनि उठेको छ।
आजियाटाले गत शुक्रबार आफ्नो वेबसाइटमा राखेको एनसेलको स्वामित्व बिक्रीसम्बन्धी विवरणमा आफूले स्पेक्ट्रलाइट यूके लिमिटेडलाई रेनोल्ड्स होल्डिङको शेयर कुल पाँच करोड अमेरिकी डलर (करिब ६ अर्ब ६६ करोड रुपैयाँ)मा बिक्री गरेको उल्लेख छ।
टेलियाबाट आजियाटाले विसं २०७२ सालमा चाहिँ १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियम दरअनुसार करिब १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको थियो।
एनसेल प्रकरणमा ठूला राजनीतिक व्यक्तित्व र तिनका ठेकेदारदेखि आफन्तको समेत नाम जोडिन थालेको छ। नाम नभनी थरचाहिँ खुलाएर सांसद सिंहले ति ठेकेदार र प्रचण्डको सम्बन्ध के हो? भनी प्रश्न गर्नुले संशय पैदा भएको छ।