आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

टिकटकमाथिकाे प्रतिबन्ध हटाउने सरकारको संकेत

मंगलबार, मंसिर १९ २०८०

काठमाडौं । नेपाल सरकारले धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा चलाउँदै आएको टिकटकमाथिको प्रतिबन्ध हटाउने संकेत गरेको छ ।

तिहारको समय चलिरहँदा गत कार्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयसँगै टिकटकमाथि प्रतिबन्ध लागेको थियो । तर सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र टिकटकमाथि नियमनको प्रावधान राख्दै सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेका छन् ।

सोमबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने बताए । सरकारको उक्त कदमको मिश्रित प्रतिक्रिया आइरहेका बेला प्रधानमन्त्रीले सामाजिक सञ्जाल टिकटिक खुलाउने संकेत गरेका हुन् ।

‘विधेयक आउँदै छ । त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ,’ प्रधानमन्त्रीले भने । टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको उनले बताएका थिए ।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षदेखि सत्तागठबन्धनका नेताहरूले पटक–पटक टिकटक बन्द गर्न सुझाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘दलहरूको बैठक बस्यो कि नेताहरूले यो बन्द गरौँ भन्ने । एमाले अध्यक्षले त यो टिकटकले देश बर्बाद गर्न थालिसक्यो भन्नुभयो,’ उनले भने, ‘सुरुमा त मैले विवाद हुन्छ भनेर दुई–तीन महिना पर नै सारेको हो । तर, पछि आफूलाई पनि साँच्चिकै विचलन ल्यायो कि भन्ने लाग्यो । त्यसैले हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो ।’

विधेयकमा के–कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन पनि उनले आग्रह गरे ।

नेपाल सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यता टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको करिव एक दर्जन रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।

यसअघि अन्तरिम आदेश दिन अस्वीकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको हो ।