बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ, सरकार कानमा तेल हालेर बस्यो

सोमबार, मंसिर १८ २०८०

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरि भइरहेको आरोप लगाएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग यात्रामा सहभागी भएका ओलीले सोमबार सुर्खेतमा भएको सन्देश सभालाई सम्बोधन गर्दै गठबन्धनको वर्तमान सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको बताए ।

उनले देशको कमजोर बनेको स्वतन्त्रता र सीमा रक्षाका बारेमा सरकार चुकेको बताए । अहिले इतिहासमै आर्थिक रूपमा देश कमजोर बनेको ओलीले बताए । ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ, देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ, तर सरकार कानमा तेल हालेर बसेको छ ।’

उनले सत्ता गठबन्धन दलहरूले देशमा विभाजन ल्याउने काम गरेको आरोप लगाए । भूगोलका हिसाबले नेपालजस्तै अरू देश समृद्ध बनेको बताउँदै उनले एमालेले भूगोलको अध्ययन गरी समृद्धिको मार्ग पहिल्याउन अहिलेको अभियान चलाएको बताए । अध्यक्ष ओलीले देशको स्वाभिमान, अस्तित्व रक्षा र समृद्धिको लागि सरकारमा एमालेको नेतृत्व खाँचो रहेको औल्याए ।