काठमाडौं । भ्रष्टाचार बिरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशीको पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखामा सो राशीको पुरस्कार स्थापना गर्न लागिएको हो । भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आईतवार काठमाडौंस्थित पत्रकार महासंघमा सम्झौता भएको हो ।
पुरस्कार झापाका एक जना भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारले पाउने छन् । सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ । सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरे। सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचारबिरुद्ध, सुशासन प्रवद्र्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृति गर्नका निम्ति पुरस्का स्थापना गरिएको बताए । उनले ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने बताए । उनले पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउण्डेशनले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ प्रदान गर्ने र ५ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गर्ने बताए ।