बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खननले देश विकासमा ठूलो भूमिका खेल्छ : अध्यक्ष ओली

सोमबार, मंसिर १८ २०८०

दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोल उत्खनन् आयोजनाको अवलोकन गरेका छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्पयात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख पुगेका ओलीले त्यहाँ रहेकाे पेट्रोलियम अन्वेषणको विकल्प नरहेको बताए । अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।

सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यस कामलाई थप अघि बढाउनुपर्नेमा जाेड दिए । ‘दैलेख पुरातात्त्विक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, उनले भने, ‘हाम्रै नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’

अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।

दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिने कुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताएका थिए ।

दैलेख जिल्लाको भू-भागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।