काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा शुक्रबार उक्त राय बाझिएको हो ।
न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिए ।
न्यायाधीश पाण्डेले प्रतिवादी पूर्वगृहमन्त्री खाँणलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने सम्मको आधार नदेखिएको भन्दै उनलाई धरौटीमा छाड्ने राय दिएका थिए । उनले २०८० असार १ गते जिल्ला अदालत काठमाडौंले खाँणलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश बेरितको ठहरिएको समेत फैसला सुनाएका थिए ।
तर, अर्का न्यायाधीश खरेलले भने खाँणको विषयमा भने फरक मत व्यक्त गरे ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा उच्चका न्यायाधीश खरेलले विशेषत: तीन राय दिएका छन् ।
खाँणका हकमा प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल सन्देश, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी, टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखिदिएको कागज, प्रतिवादी आङ्टावा शेर्पाको घटना विवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति २०८०–१–२७ को ततिम्बा बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनाशिव आधार नदेखिएको’ न्यायाधीश खरेलको मत रहेको छ ।
आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको निवेदन बालकृष्ण खाँण विपक्षी नेपाल सरकार भएको प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।” खाँणको विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।
त्यस्तै, प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।
अदालतले पूर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई रु १५ लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको हो । भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको उल्लेख गर्दै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई रु ३० लाख, हरिभक्त मर्हजन र शरण केशीलाई रु १५-१५ लाख, नरेश केसी र शमशेर मियाँलाई रु १०र१० लाख, आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
अदालतले साधारण तारिखमा टङ्ककुमार गुरुङ, केशव तुलाधार, लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उक्त विवादका १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।
जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो ।