आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त गर्न आदेश भएका १० जना भोलि छुट्ने

शनिबार, मंसिर १६ २०८०

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको २८ करोड ठगी प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै पुर्पक्षमा थुनामा रहेकामध्ये ६ जनालाई धरौटी लिएर छाड्न उच्च अदालतले आदेश दिएको हो ।

धरौटीमा छाड्न आदेश दिइएकाहरूमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालदेखि पूर्व-गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका पिए नरेन्द्र केसीसमेत छन् । रिजालसँग १५ लाख धरौटी लिएर छाड्न उच्चले आदेश दिएको छ भने केसीको हकमा १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

त्यसैगरी, हरिभक्त महर्जनलाई १५ लाख धरौटी, मुस्लिम आयोगका अध्यक्ष शमशेर मियाँलाई १० लाख, एमाले नेता तथा पूर्व(उपप्रधानमन्त्रीसमेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटी र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

त्यसैगरी, यसअघि धरौटीमा रिहा भएकी नेपाल प्रहरीकी सई लक्ष्मी महर्जनलाई भने यसअघिको ५ लाख धरौटी फिर्ता गरेर साधारण तारेखमा राख्न आदेश दिइएको छ । आशिष बुढाथोकीको हकमा पनि साधारण तारेखमा राखेर मुद्दाको किनारा लगाउन आदेश दिइएको छ ।
टंक गुरुङको हकमा यसअघि लिइएको १० लाख रुपैयाँ धरौटीको जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको किनारा लगाउन आदेश दिइएको छ । केशव तुलाधरको हकमा पनि यसअघिको १५ लाख धरौटीको आदेश बदर गर्दै साधारण तारेखमा राखेर रिहा गर्न आदेश दिइएको छ ।

पुर्पक्षका लागि थुनामा रहेकामध्ये १० जनालाई छाड्ने आदेश भए पनि उनीहरू शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । ‘उच्चबाट जिल्लामा पत्र पुगेपछि मात्र आदेश कार्यान्वयनमा जान्छ, शनिबार बिदा हुने भयो । त्यसैले आइतबार मात्र उहाँहरू छुट्नुहुन्छ’, भट्टराईको भनाइ छ ।

यता पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित नौजना थुनामै रहने भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासले प्रतिवादीहरू टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।