काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् ।
अध्यक्ष ओली यतिबेला पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा छन् ।
सोही क्रममा अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेर उनलाई फोन सम्पर्क गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुककमा एक भिडिओ सेयर गर्दै उनले देउवासँग गरेको कुराकानी जानकारी गराएका हुन् ।
‘सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी ! (सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ । त्यसैले यसलाई पोस्ट गरेको छु ।)’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।
यसैबीच, पदयात्रामा रहेको एमालेको टोली आज डोटीको सिलगढी पुग्दैछ । हिजो बैतडीको झुलाघाटबाट सुरू भएको पदयात्रा डडेल्धुराको अमरगढी पुगेको थियो ।
अध्यक्ष ओलीले हिजाे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर संकल्प यात्राको शुभारम्भ गरेका थिए ।